अचानक फोन आयो घरबाट, सुनेपछी थाहा पाएँ भोलि माघे सङ्क्रान्ती रहेछ । म यो शहर छिरेदेखी यस्ता चाडपर्वहरु आएको गएको थाहै पाउदिन ! कसरी आउँछ कसरी गइसक्छ ! मलाई यो शहरले साच्चै बिरानो बनाएको नै रहेछ चाडपर्वहरुबाट पनि !

त्यसपछी .... ममि बोल्नुभयो फोनमा, " भोलि सङ्क्रान्ती मासु मङ्सा किनेर खाओ, तिलौरा खाओ, न्यास्रो लाग्यो होला के गर्नु टाढा छौँ ! घरमा मासु पाकिरहेको छ, कुकरको प्रत्येक सिट्ठीसगै तिमिहरुको सम्झना आउँछ ! "

मलाई यो शहरको एक्लो साघुरो कोठाले थुप्रै कुरा साघुरो बनाइदिएको छ ! म साघुरिएको छु !
मलाई यो शहरको बाहिरी वातावरण मन पर्दैन ! यो शहरको अनुहार मन पर्दैन ! त्यसैले त हररात हरदिन म कोठाको झ्यालमा पर्दा लगाएर बस्छु !
त्यसैले पनि होला मैले यो शहरबाट कहिल्यै पनि चाडहरुको अनुभूति गर्न नसकेको !